नयाँ दिल्ली। भारतले सरकारी स्वामित्वका तेल कम्पनीहरूले मूल्य परिमार्जनमा लगाएको करिब चार वर्ष लामो रोक हटाए सँगै, मंगलबार पेट्रोल र डिजेलको मूल्य प्रति लिटर करिब ९० पैसाले बढेको छ। यो एक साताभन्दा कम समयमा इन्धनको मूल्यमा भएको दोस्रो वृद्धि हो।
उद्योग स्रोतका अनुसार, यस वृद्धिले नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर रु ९७.७७ बाट बढेर रु ९८.६४ पुगेको छ भने डिजेलको मूल्य प्रति लिटर रु ९०.६७ बाट बढेर रु ९१.५८ पुगेको छ।
यसअघि शुक्रबार, चार वर्षभन्दा बढीको अवधिमा पहिलो पटक पेट्रोल र डिजेलको मूल्य प्रति लिटर रु ३ ले बढाइएको थियो। इरान युद्धपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि, मुख्य राज्यहरूको चुनावका कारण महिनौंसम्म मूल्य स्थिर राखेका सरकारी इन्धन बिक्रेताहरू आफ्नो बढ्दो घाटाको केही हिस्सा उपभोक्तामा सार्न बाध्य भएका हुन्।
मूल्य अभिवृद्धि करमा हुने भिन्नताका कारण विभिन्न राज्यहरूमा इन्धनको दर फरक-फरक हुने गर्दछ।
मे १५ मा दिल्ली र मुम्बई लगायतका सहरहरूमा कम्प्रेस्ड नेचुरल ग्यासको मूल्य पनि प्रति केजी रु २ ले बढाइएको थियो। आइतबार पुनः सीएनजीको मूल्य प्रति केजी रु १ ले वृद्धि गरियो।
फेब्रुअरी २८ मा इरानमाथि अमेरिका-इजरायलको आक्रमण र तेहरानको प्रतिशोधपछि विश्व बजारमा कच्चा तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ, जसका कारण विश्वव्यापी तेल ओसारपसारको मुख्य मार्ग मानिने होर्मुज जलडमरूमध्ये आपूर्ति प्रभावित भएको छ।
मूल्यमा यति ठूलो वृद्धि भएता पनि, मूल्यप्रति संवेदनशील उपभोक्ताहरूलाई विश्वव्यापी ऊर्जाको उच्च लागतबाट जोगाउने सरकारको प्रयास भन्दै खुद्रा इन्धनको दरलाई दुई वर्ष पुरानै मूल्यमा रोकेर राखिएको थियो। तर, विपक्षी दलहरूले भने मुख्य राज्यहरूमा निर्वाचन भइरहेकाले यस कदम पछाडि राजनीतिक स्वार्थ रहेको आरोप लगाएका थिए।
पश्चिम बङ्गाल सहित पाँचमध्ये तीन राज्यमा जित हासिल गर्दै सत्ताधारी भारतीय जनता पार्टीले आफ्नो प्रभाव विस्तार गरेपछि र चुनाव सम्पन्न भएपछि शुक्रबार प्रति लिटर रु ३ को मूल्य वृद्धि गरिएको थियो।
यद्यपि, उक्त वृद्धि लागत अनुसार मूल्य समायोजन गर्न आवश्यक पर्ने वास्तविक वृद्धिको पाँचौं हिस्सा मात्र थियो।
सोमबार पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सह-सचिव सुजाता शर्माले मे १५ को मूल्य वृद्धिले घाटालाई एक चौथाइले कम गरे तापनि तेल कम्पनीहरूले अझै पनि दैनिक करिब रु ७५० करोड नोक्सानी बेहोरिरहेको बताएकी थिइन्।
मंगलबारको वृद्धिपछि, पेट्रोल र डिजेलको मूल्य अहिले मे २०२२ यताकै उच्च बिन्दुमा पुगेको छ।
लोकसभा निर्वाचनको ठीक अघि, मार्च २०२४ मा पेट्रोल र डिजेल दुवैमा प्रति लिटर रु २ को एकपटक मात्र कटौती गरिएको बाहेक, अप्रिल २०२२ देखि मूल्यहरू स्थिर राखिएका थिए। यसअघि अन्तिम पटक अप्रिल २०२२ मा मूल्य बढाइएको थियो।
अहिले मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर रु १०७.५९ र डिजेलको मूल्य रु ९४.०८ पुगेको छ। कोलकातामा पेट्रोलको मूल्य प्रति लिटर रु १०९.७० र डिजेलको रु ९६.०७ पुगेको छ भने चेन्नईमा पेट्रोलको मूल्य बढेर रु १०४.४९ र डिजेलको मूल्य रु ९६.११ पुगेको छ।
उद्योग स्रोतका अनुसार कच्चा तेलको मूल्यमा भएको वृद्धिको तुलनामा यो मूल्य वृद्धि सामान्य हो र खुद्रा विक्रेताहरूले अझै पनि ठूलो घाटा सहनु परिरहेको छ।
क्रिसिलका अनुसार मे १५ को मूल्य वृद्धि पछि पनि पेट्रोलमा प्रति लिटर करिब रु १० र डिजेलमा रु १३ को घाटा थियो।
यी दुई मूल्य वृद्धिहरू मार्चमा घोषणा गरिएको अन्तःशुल्क कटौती पछि भएका हुन् र सरकारले इन्धनको खपत कम गर्न तथा देशको तेल आयातको बिल नियन्त्रण गर्न उपायहरू लागू गरिरहेका बेला आएका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता ऊर्जाको उच्च मूल्यले भारतको विदेशी मुद्रा सञ्चितिमा दबाब बढाएको र लगातार तेस्रो वर्ष पनि चालु खाता घाटा फराकिलो हुने खतरा निम्त्याएको भन्दै इन्धन बचत गर्न, 'वर्क-फ्रम-होमु अभ्यास अपनाउन र यात्रा कम गर्न आग्रह गर्नुभएको थियो।
केही राज्य सरकारहरूले आफ्ना विभागहरूलाई यात्रा सीमित गर्न, भौतिक बैठकहरू नगर्न र कम कर्मचारीहरूका साथ कार्यालय सञ्चालन गर्न निर्देशन दिइसकेका छन्।
निजी इन्धन खुद्रा विक्रेताहरूले यसअघि नै पम्पको मूल्य बढाइसकेका थिए। देशकै सबैभन्दा ठूलो निजी इन्धन खुद्रा विक्रेता नायरा इनर्जीले मार्चमा पेट्रोलको मूल्य प्रति लिटर रु ५ र डिजेलको मूल्य रु ३ ले बढाएको थियो भने शेलले अप्रिल १ देखि पेट्रोलको मूल्य रु ७.४१ र डिजेलको मूल्य प्रति लिटर रु २५ ले बढाएको थियो। बेंगलुरुमा शेलले पेट्रोल प्रति लिटर रु ११९.८५ र डिजेल रु १२३.५२ मा बेचिरहेको छ।
घरायसी खाना पकाउने ग्यासको मूल्य मार्चमा प्रति सिलिन्डर रु ६० ले बढाइएको थियो, तर यो अझै पनि वास्तविक लागत भन्दा धेरै कम छ। तेल कम्पनीहरूले एलपीजीको प्रति १४.२ केजीको सिलिन्डरमा रु ६७४ घाटा बेहोरिरहेका छन्।
उद्योग स्रोतका अनुसार यो मूल्य वृद्धि सन्तुलित रूपमा गरिएको देखिन्छ- जसले गर्दा बजारमा ठूलो मूल्यवृद्धिको धक्का सिर्जना नभई तेल कम्पनीहरूको मार्जिनको दबाबलाई आंशिक रूपमा कम गर्न सकोस्।
तथापि, यस वृद्धिले मुद्रास्फीतिमा केही प्रभाव पार्ने उनीहरूले बताएका छन्।
उपभोक्ता मूल्य सूचकांकद्वारा मापन गरिएको भारतको खुद्रा मुद्रास्फीति मार्चको ३.४० प्रतिशतबाट बढेर अप्रिल २०२६ मा ३.४८ प्रतिशत पुगेको छ भने थोक मूल्य मुद्रास्फीति बढेर ४२ महिनाकै उच्च बिन्दु ८.३ प्रतिशत पुगेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य उच्च रहेका बेला इन्धन र ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धिका कारण यो अवस्था आएको हो। -प्रेस ट्रस्ट अफ इन्डिया
प्रतिक्रिया