काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा सुरु भइरहँदा यसले नेपाली राजनीतिमा कस्तो तरंग ल्याउला र जनतामा कस्तो आशा जगाउला भन्ने चासो चौतर्फी छ। परम्परागत राजनीतिक दलहरूको कार्यशैली र आन्तरिक लोकतन्त्रप्रति निराश आम नागरिकले रास्वपाको यस महाधिवेशनलाई निकै गम्भीरताका साथ हेरिरहेका छन्।
रास्वपाको पहिलो महाधिवेशनबाट राष्ट्रिय राजनीतिमा अपेक्षा गर्न सकिने नयाँ आयाम, आशा र आत्मविश्वासका आधारहरू के कस्ता हुनसक्लान् भनेर अड्कलबाजी पनि चलिरहेको पाईन्छ।
समावेशी नेतृत्वको नयाँ मानक
नेपाली राजनीतिमा 'समावेशिता' नारामा सीमित भइरहेका बेला रास्वपाले आफ्नो विधान संशोधन गरेरै पदाधिकारी तहमा महिलाको सहभागिता सुनिश्चित गर्ने कदम चालेको छ।
उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष जस्ता शक्तिशाली पदमा १ जना महिला अनिवार्य गर्ने व्यवस्थाले अब महिलाहरू नीति निर्माण र निर्णय प्रक्रियाको मूलधारमा आउनेछन्।
यसले अन्य पुराना दलहरूलाई पनि आफ्नो संरचना सुधार गर्न नैतिक दबाब दिनेछ र राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिताको नयाँ युग सुरु गर्ने आशा जगाएको छ।
राजनीतिक समीकरण र नयाँ शक्ति समन्वय
महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहको उपस्थिति आफैँमा एउटा ठूलो राजनीतिक सन्देश हो।
यसले देशका प्रमुख वैकल्पिक र स्वतन्त्र शक्तिहरूबीच कार्यगत एकता र नयाँ राजनीतिक ध्रुवीकरणको बलियो संकेत गर्दछ। व्यक्तिगत राजनीतिक 'इगो' भन्दा माथि उठेर युवा नेतृत्व देश विकासका लागि एकै ठाउँमा उभिन सक्छन् भन्ने सन्देशले जनतामा देश बन्ने नयाँ आत्मविश्वास पैदा गरेको छ।
सांगठनिक परिपक्वता र बृहत् राजनीतिक समायोजन
केवल 'सोसल मिडिया' र 'लहर' को भरमा टिकेको आरोप खेप्ने गरेको रास्वपाले ५ लाख सदस्य, ६१० पालिका र ४ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न गरेर आफूलाई भुइँतहसम्म स्थापित गराएको प्रमाणित गरेको छ।
विधान परिमार्जन गरी १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा ९९ जना खुला प्रतिस्पर्धाबाट आउने व्यवस्थाले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँछ।
सभापतिलाई ५१ सदस्य मनोनयनको अधिकार दिनु र बृहत् राजनीतिक समायोजनका लागि केही पदाधिकारी चयन गर्ने खुकुलो व्यवस्था राख्नुले भविष्यमा समाजका प्रबुद्ध वर्ग, विज्ञ र अन्य लोकतान्त्रिक शक्तिहरूलाई रास्वपामा भित्र्याउने ढोका खोलेको छ।
स्पष्ट वैचारिक र आर्थिक कार्यदिशा
यस महाधिवेशनमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनहरू प्रस्तुत हुँदैछन्। अहिलेसम्म रास्वपाको वैचारिक धार र देश विकासको आर्थिक मोडल स्पष्ट नभएको गुनासो सुनिँदै आएको थियो।
यो महाधिवेशनले तय गर्ने भावी राजनीतिक रणनीति र आर्थिक कार्यदिशा ले पार्टीलाई केवल 'विरोधको राजनीति' बाट 'विकल्प र समाधानको राजनीति' तर्फ डोर्याउने अपेक्षा गरिएको छ।
रास्वपाको यो पहिलो महाधिवेशन केवल नयाँ कार्यसमिति चयन गर्ने प्राविधिक प्रक्रिया मात्र होइनस यो त नेपाली जनतामा मरेको 'राजनीतिक भरोसा' लाई पुनः जगाउने कसी हो। विधानमा गरिएको प्रगतिशील संशोधन, भुइँतहसम्मको बलियो सांगठनिक सञ्जाल र वैकल्पिक शक्तिहरूबीचको सहकार्यले देशमा 'अब परिवर्तन सम्भव छ' भन्ने नयाँ आत्मविश्वासको बलियो आधार तयार पारेको देखिन्छ। यो महाधिवेशन सफल भएमा यसले नेपालको समग्र राजनीतिक दिशा र भावी सत्ता समीकरणमा निर्णायक मोड ल्याउने निश्चित छ।
सभापति रबि लामिछानेको बदलिएको कार्यशैली र भाषाले राजनीतिमा रास्वपा बलियो विकल्प हुनसक्ने संकेत दिएको छ। तर एउटा कुरामा भने नेपाली जनता सदैव सशंकित रहँदैआएका छन् त्यो के हो भने सत्तामा पुगेका यसअघिका सबैजसो दलहरुमा नेताको महत्वाकांक्षाको व्यवस्थापन हुननसक्दा ती दलहरु विभाजित भएका छन्।
रास्वपा त दुइतिहाई मै छ भन्दा पनि फरक नपर्ने अवस्था छ। तसर्थ यो शक्तिको गणना गर्दा राजकाज गर्न यो भन्दा सुनौलो अवसर कहिले आउला र भन्ने चस्का नेतृत्वका मनमा नपस्ला भन्न सकिँदैन। रास्वपालाई यही एउटा चुनौति अस्थिरताको कारण बन्ला कि भन्ने मात्र सर्वत्र चासो देखिन्छ। अन्यथा यो दलले देशमा सुधारको रेखांकन गर्न सक्ला कि भन्ने आशा सर्वत्र रहेको छ।
प्रतिक्रिया