काठमाडौं। नेपाली कांग्रेसभित्र एकताको दबाब र अस्तित्वको संघर्ष बीच एक किसिमको रोचक द्वन्द्व देखिन्छ। गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिले चालेको पछिल्लो कदम र असन्तुष्ट पक्षको रणनीतिलाई हेर्दा के यो पुरानो प्रजातान्त्रिक पार्टीमा फेरि एकताको झण्डा फहराउला र भनेर आशंका गर्नेहरुकै बाहुल्य देखिन्छ।
जब सभापति गगन थापाको स्मार्ट मुभ प्रकट भयो त्यसले पुराना नेता अझ सशंकित र भयभित पनि जस्तो देखिए। उनीहरुका मनमा उम्रिएको बलियो आशंका के हो भने अब पार्टी एकता कि विभाजन, यो भयभित प्रश्नले उनीहरुलाई तर्साएको हुनुपर्छ। सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले भूतपूर्व कार्यबाहक सभापति पूर्ण बहादुर खड्कासँग भेटेर आफूहरु एकताका लागि उदार रहेको सन्देश दिनेबित्तिकै कार्यसमितिमा सदस्यहरु मनोनयन गरिनुले पुरानालाई तर्साएको हो भने त्यो अस्वाभाविक पनि होइन।
सभापति थापाले विशेष महाधिवेशनमा सहभागी नभएका विशेष गरी देउवा र कोइराला पक्षका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुलाई दुई अर्थमा हेर्न सकिन्छ।
एउटा फकाउने रणनीति। बाहिर रहेका प्रभावशाली नेताहरूलाई स्पेस दिएर संस्थापन इतर देउवा-कोइराला-सिटौला गुटलाई कमजोर बनाउने र उनीहरूका दोस्रो तहका नेताहरूलाई आफ्नो कित्तामा ल्याउने रणनीति थापाको हुनसक्छ।
अर्को हो वैधानिकताको दाबी। म कसैलाई निषेध गर्दिनँ, जो काम गर्न चाहन्छ उसलाई ढोका खुला छ भन्ने सन्देश दिएर आफूलाई साझा सभापतिको रूपमा स्थापित गर्ने थापाको नयाँ प्रयास पनि हुनसक्छ।
पूर्णबहादुर खड्का र शेखर कोइरालाको प्रतिक्रियाले के देखाउँछ भने, यो मनोनयन सहमति भन्दा पनि व्यक्तिगत पहुँचका आधारमा भएको छ। यसले संस्थागत एकता भन्दा पनि नेताहरूका बीचमा थप अविश्वास पैदा गरेको छ।
अहिले कांग्रेसभित्रको मुख्य विवादको चुरो १५औं महाधिवेशन कसले गराउने भन्ने नै हो।
देउवा पक्षको माग छ, विशेष महाधिवेशन र १४औं महाधिवेशनका दुवै समितिलाई मिलाएर एउटा महाधिवेशन आयोजक समिति बनाउनुपर्छ। यसको अर्थ वर्तमान कार्यसमितिको एकलौटी अधिकार कटौती गर्नु हो। अझ भित्री कुरा के हो भने देउवा गुट विशेष महाधिवेशनलाई कुनै अभिलेखमा राख्न नपरे हुन्थ्यो र यस्तो तयारी समिति बनाउन पाए त्यसलाई ओझेलमा पार्न सकिन्थ्यो भन्ने उनीहरुको मनसाय देखिन्छ।
गगन पक्षको अडान फरक छ। विधान अनुसार निर्वाचित समिति नै आधिकारिक हो र यसैले महाधिवेशन गराउँछ भनेर उनीहरुले भन्नु अन्यथा मान्न सकिँदैन।
देउवा पक्षले सातै प्रदेशमा भेला गरेर समानान्तर शक्ति प्रदर्शन गर्नुले कांग्रेस तत्कालै पूर्ण रूपमा एक हुने सम्भावना न्यून देखाउँछ। उनीहरूले सदस्यता वितरण र निर्वाचन समितिमा आफ्नो बलियो हिस्सा खोजिरहेका छन्।
के कांग्रेस एक भएर महाधिवेशनमा जाला?
यसका दुईवटा पाटा छन्। प्राविधिक एकताको बाध्यता: क्रियाशील सदस्यता वितरण र महाधिवेशनको तालिका सार्वजनिक भइसकेको अवस्थामा, यदि देउवा र शेखर पक्षलाई बाहिरै राखियो भने महाधिवेशन वैधानिक संकटमा पर्न सक्छ। त्यसैले, गगन थापाले प्रदीप पौडेल नेतृत्वको सदस्यता समिति र निर्वाचन समितिमा भागबन्डा गरेर विपक्षीलाई थुम्थुम्याउने प्रयास गर्नेछन्।
मनोवैज्ञानिक विभाजन: १९ जनाको मनोनयनले देउवा क्याम्पमा भत्काउ र शासन गरको गन्ध गएको छ। यसले गर्दा नेतृत्व तहमा मनमुटाव कायमै रहने देखिन्छ।
कांग्रेसमा अहिले नीतिगत एकता भन्दा पनि पद र पेलानको राजनीति हाबी छ। गगन थापाले ढोका खुला छ भन्दै निम्तो बाँडिरहेका छन् भने देउवा-कोइराला पक्ष भान्सा नै हाम्रो हुनुपर्छ भन्दै छुट्टै भेला गरिरहेका छन्।
कांग्रेस एक भएर महाधिवेशनमा जाने सम्भावना त छ, तर त्यो मन मिलेर होइन, महाधिवेशन नगरे पार्टी नै वैधानिक संकटमा पर्ने डरले हुने प्राविधिक एकता मात्र हुने देखिन्छ। सभापति थापाले जसरी सरप्राइज मनोनयन गरे, त्यसले पुराना नेताहरूलाई सशंकित बनाएको छ। यदि सदस्यता र निर्वाचन समितिमा सम्मानजनक हिस्सा नमिलेमा देउवा पक्षले महाधिवेशनलाई बिथोल्ने वा बहिष्कार गर्नेसम्मको रणनीति लिन सक्छ।
यसरी हेर्दा कांग्रेस अहिले एउटै डुंगामा त छ, तर सानो छाल आउँदा पनि माझीहरूबीच डुंगा कसले खियाउने भन्नेमा हानाथाप चलिरहेको छ।
प्रतिक्रिया