काठमाडौं । नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ ।
दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ । सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ ।
नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारणमध्ये एक विश्वबजारमै सुनको मूल्य बढ्नु हो । विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्दा, जस्तै अमेरिका–चीन व्यापार द्वन्द्व, युरोपेली बजारमा महँगी, वा मध्यपूर्वमा युद्धजस्ता घटनाले लगानीकर्तालाई सुरक्षित विकल्पतर्फ आकर्षित गर्छन् । सुनलाई ‘सेफ हेवन’ (सुरक्षित आश्रय) मानिने भएकाले यस्ता घटनामा यसको मूल्य आकस्मिक रूपमा बढ्छ ।
त्यसैगरी, नेपालले सुन आयात गर्ने क्रममा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ । डलर बलियो हुँदा रुपैयाँ कमजोर बन्छ, जसको सीधा असर सुनको मूल्यमा पर्छ । पछिल्ला वर्षहरूमा रुपैयाँ कमजोर बन्दै गएकोले आयातित सुनको मूल्य बढ्न गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ निर्धारण गरिएको छ । आजभन्दा एक वर्ष अघि आजकै दिन अमेरिकी डलर एकको खरिदर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया