काठमााडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ ।
जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलदेखिएको निष्कर्ष निकाल्दै पापडले यस्तो सुझाव दिएको हो ।
पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने सुझाव दिएको छ ।
‘अहिले मुलुक तरल अवस्थामा पुगेको छ । तत्काल राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको छ । यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित देखिंदैन’, पापडले भनेको छ, ‘तसर्थ, तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अबको निकाश निकालिनु पर्दछ ।’
जेनजीले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेट्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियामार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नुपर्ने पापडको सुझाव छ ।
२०६२/०६३ को आन्दोलनको पूर्व सन्ध्यामा स्थापना गरिएको पापडमा देशका प्रमुख ६ वटा पेशागत संगठन रहेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशिएशन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक युनियन, नेपाल इञ्जिनियर्स एशोशिएन र नेपाल चिकित्सक संघ यसका संस्थापक सदस्य संगठनहरु हुन् ।
प्रतिक्रिया