घातक विद्युतीय मोटर : सिचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युु

रौतहट । रौतहटका कृषक असावधानीका कारण खेतमा सिचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्युु हुने गरेको पाइएको छ । 

विद्युतीय करेन्ट लागेर गत आर्थिक बर्षमा २३ जनाको मृत्यु भएको थियो भने हालसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ । इशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर अचेत भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए । 

रौतहट प्रशासनले खेतमा सिचाइ गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । कृषि कार्यमा प्रयोग हुने विद्युतीय मोटर सञ्चालन गर्दा असावधानीका कारण करेन्ट लाग्ने गरेकाले सूचना जारी गरि सावधानी अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले बताए । यो घटना अत्यधिक बढेकाले न्यूनीकरणका लागि विद्युत प्राधिकरणसंग समन्वय गरेर सावधानी अपनाउन अनुरोध गरीएको उनको भनाइ छ ।  

खेतमा पानी पठाउन किसानले नांगो तारमा सामान्य प्लास्टिक बेरेर लैजाने गर्छन् । त्यस्तो तार पानीमा परेपछि बाहिर करेन्ट सप्लाई भएर मानिसको मृत्युका घटना हुने गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया