काठमाडौं। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो संसदीय दलको नेता चयन गर्ने गृहकार्यमा व्यस्त छ र यो व्यस्तता एउटा उदेकलाग्दो अलमल जस्तो देखिएको छ। सर्वविदितै छ, नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ। ०८२ पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले सभापति र उपसभापति चुनिएका गगन थापा र विश्वप्रकाश शर्मा यतिबेला नेपाली कांग्रेसको रथका सारथि हुन्।
पुराना नेताको गतिबाट आजित भएपछि नयाँ जोशका साथ पार्टी सञ्चालन गर्न नेतृत्वमा आएका यी दुइ नेताको अलमलको कारण पत्ता लाउन नसकेर नेता कार्यकर्ताको पसिना छुटेको छ। दलको नेता चुन्न पनि महिना दिनभन्दा बढी समय लगाएको देखेर उनीहरु विगतमा ४९ दिन अर्थहीन बसेको केन्द्रीय कार्यसमितिको बैठक सम्झिरहेका छन्।
कुनै नेता विशेषले संसदीय दलको नेताका लागि प्रस्ताव गर्ने वा दाबी गर्ने कुरा आएको हो भने, त्यसले पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र पुरानो पुस्ता विरुद्ध नयाँ पुस्ताको लडाइँलाई स्पष्ट पार्छ।
अहिलेको कार्यशैली हेर्दा परिवर्तनको नाममा पुरानै रोगको निरन्तरता जस्तो देखिएको छ। युवा पुस्ता नेतृत्वमा आएपछि कार्यकर्ता र आम जनतामा ठूलो आशा थियो। तर, उनीहरू पनि पार्टीको सिस्टम बदल्न होइन, त्यही सिस्टम भित्र आफ्नो स्थान सुरक्षित गर्न अल्झिएका देखिन्छन्। युवा नेताहरूले चर्को भाषण त गरे, तर पार्टी सञ्चालनको विधि र पद्धतिमा ठोस परिवर्तन ल्याउन सकेनन्। उनीहरू पनि अन्ततः गुटबन्दीकै बैशाखी टेक्न बाध्य हुनु उनीहरूको वैचारिक स्खलन हो।
गुटबन्दी कांग्रेसको क्यान्सर हो भन्ने कुरा त विगतमा पटक पटक पुष्टि भैसकेको हो। कांग्रेसमा विचारको बहस सकिएको छ र केवल भागबन्डाको राजनीति जीवित छ। संसदीय दलको नेता चयनमा हुने ढिलासुस्तीको मुख्य कारण म नभए कोही पनि हुनुहुँदैन भन्ने अहम् र आफ्नो मान्छेलाई मात्र सुरक्षित गर्ने संकीर्णता हो। व्यक्ति विशेषलाई काखी च्याप्ने प्रवृत्तिले क्षमतावान् सांसदहरू ओझेलमा परेका छन्, जसले गर्दा पार्टी एउटा जीवन्त राजनीतिक दलभन्दा पनि स्वार्थ समूहहरूको महासंघ जस्तो देखिन थालेको छ।
यदि विधानको धारा ५ अनुसार प्रक्रिया अगाडि बढ्न सक्दैन र फेरि पनि सहमतिका नाममा अनिर्णयको बन्दी बनाइन्छ भने, त्यसले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाउँछ। चुनाव गर्न डराउने र टीका लगाउने संस्कृतिले कांग्रेसलाई नयाँ पार्टी होइन, पुरातनवादी क्लबमा परिणत गरिरहेको छ। देशमा आर्थिक र सामाजिक समस्या चुलिएका बेला प्रमुख प्रतिपक्षी दल आफ्नै घरभित्रको झगडामा रुमलिनु जनताप्रतिको गम्भीर धोका हो।
के यसलाई यो शैली बोकेको नेपाली कांग्रेसलाई नयाँ कांग्रेस भन्न सकिन्छरु कदापि सकिँदैन। केवल अनुहार फेरिएर वा युवाहरूको उपस्थितिले मात्र पार्टी नयाँ हुँदैन। नयाँ हुनका लागि निर्णय प्रक्रियामा पारदर्शिता चाहिन्छ। गुटको आधारमा होइन, मेरिट ९योग्यता० का आधारमा अवसर वितरण हुनुपर्छ। नेतृत्वमा त्याग र नयाँ पुस्तालाई बाटो छोड्ने हिम्मत हुनुपर्छ।
नेपाली कांग्रेस अहिले ऐतिहासिक विरासत र वर्तमानको निकम्मापनको चेपमा छ। सोमबार बस्ने भनिएको कार्यसम्पादन समितिको बैठक र छलफलले यदि पुरानै अनुहारलाई निर्विकल्प देखाउने वा प्रक्रियालाई मिचेर शक्ति केन्द्रको स्वार्थ पूरा गर्ने काम गर्यो भने, यसले पुष्टि गर्नेछ कि, कांग्रेस परिवर्तन भएको छैन, बरु अझ बढी जड र यथास्थितिवादी बनेको छ।
गगन थापा वा अन्य युवा नेताहरूले पनि यदि प्रणाली सुधार्न सक्दैनन् भने, उनीहरू पनि त्यही असफल इतिहासको एउटा पात्र मात्र बन्नेछन्। कांग्रेसका लागि यो गर या मर को स्थिति हो, तर नेतृत्वले यसलाई केवल सत्ता र भागबन्डा को खेल मात्र सम्झिरहेको छ।
नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन वा नेतृत्वको कार्यशैलीलाई लिएर अहिले जुन अन्योल र बहस देखिएको छ, त्यसलाई केवल गुटबन्दी मात्र भन्नु अधुरो हुन्छ। यो नेपाली राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिएको दलभित्रको संरचनात्मक संकट र पुस्तान्तरणको संघर्ष दुवै हो।
नेपाली कांग्रेसमा गुटबन्दी नयाँ कुरा होइन, तर अहिले यो विचार भन्दा पनि भागबन्डामा बढी केन्द्रित देखिन्छ। तल्लो तहका कार्यकर्तादेखि केन्द्रसम्म गुटको संरक्षण बिना राजनीतिक भविष्य असुरक्षित देख्ने प्रवृत्तिले गर्दा नेताहरू सम्झौता गर्न बाध्य हुन्छन्। कांग्रेसमा गुटलाई आन्तरिक लोकतन्त्रको रूपमा व्याख्या गरिने हुनाले यसलाई निर्मूल पार्ने भन्दा पनि व्यवस्थापन गर्ने प्रयास मात्र हुन्छ।
वर्तमान नेतृत्वमाथि सत्य र समयको पदचाप बुझेर कठोर निर्णय लिन नसकेको आरोप लाग्न गयो भने नेतृत्वमा बसेकाहरू सेटिङ र सहमतिका नाममा यथास्थिति जोगाउन चाहन्छन् भन्ने भनाईलाई पुष्टि गर्नेछ। पार्टीको विधान र पद्धतिभन्दा व्यक्ति बलियो हुने परिपाटीले गर्दा सत्यमा आधारित निर्णय भन्दा सत्ता जोगाउने निर्णयले प्राथमिकता पाउने गरेको इतिहास नयाँ नेतृत्वले बुझेकै हुनुपर्छ।
कांग्रेसले दलको नेता चुन्न वा स्पष्ट मार्गचित्र कोर्न नसक्नुको मुख्य कारण पुस्तान्तरणको डर र गुटीय स्वार्थको टकराव नै हो। जबसम्म नेतृत्वले आफ्नो व्यक्तिगत विरासतभन्दा माथि उठेर पार्टीको भविष्य र आम जनताको भावनालाई हेर्दैन, तबसम्म यस्ता समस्याहरू बल्झिरहने देखिन्छ। कांग्रेसको समस्या नीतिमा भन्दा पनि नियत र नेतृत्वको कार्यक्षमतामा अल्झिएको देखिन्छ।
असक्षम ठानेर जिम्मेवारीबाट पाखा पारिएका पुराना नेताहरु अब पनि नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा रजाईं गर्न नतम्सिएलान् भनेर भरपर्न सकिहाल्ने अवस्था त छैन। तर नयाँ नेताहरुलाई संसदीय दलको नेतृत्वमा स्थापित गराउने बिषय नै तानातानमा पर्यो भने नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको सन्देश फितलो हुनेमा कुनै शंका रहने छैन।
प्रतिक्रिया