समाचारभित्रको समाचार

नेता पुत्रहरु ‘तीन राजकुमार’ लाई  सान्दर्भिकता जोगाउने जोखिम

काठमाडौं। नेपाली कांग्रेसका ऐतिहासिक धरोहर मानिने वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरू- शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि-को वर्तमान राजनीति र भविष्यको सम्भाव्यताका बारेमा अहिलेको बदलिँदो राजनीतिक परिदृश्यमा विभिन्न टिप्पणी गरेको सुन्न पाईन्छ। खासगरी विशेष महाधिवेशनपछि चलिरहेको वैधानिकताको बहस सर्बोच्च अदालतको फैसलाले अन्त्य गरिदिएपछि यी तीन नेताका बारेमा चर्चा भैरहेको पाईन्छ। कतिपयले शीर्ष नेताका पुत्रहरुलाई ‘तीन राजकुमार’ भनेर सम्वोधन गरेको सुनिन्छ। 

त्यसो त यी तिनैजना नेताको योगदान र भूमिकाको आफ्नै इतिहास छ। उनीहरुले त्यस वापत विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी र अवसर पनि नपाएका होइन। तर नेपाली कांग्रेसको महाधिवशेन नजिक आएपछि आफैं नेतृत्वका लागि तयार भएको प्रचार गरेर अन्त्यमा पूर्व सभापति शेर बहादुर देउवालाई समर्थन गर्दै पछि सरेका यी नेताहरु बदलिँदो समयमा कस्तो भूमिकामा रहने हुन् भनेर चर्चा हुनु स्वाभाविक नै देखिन्छ।

वर्तमान राजनीतिमा उनीहरूको सान्दर्भिकता कस्तो हुने छ त? यी तीनै नेताहरू कांग्रेसभित्र विरासतको राजनीतिका बलिया खम्बाहरू हुन्। उनीहरूको सान्दर्भिकता अहिले पनि पार्टीको आन्तरिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण छ।

शशांक कोइराला

कोइराला परिवारको विरासतका कारण कार्यकर्ता पंक्तिमा उनको छुट्टै प्रभाव छ। यद्यपि, पछिल्लो समय उनी वैचारिक भन्दा पनि मध्यमार्गी र कहिलेकाहीँ विवादास्पद छविका रूपमा देखिन्छन्।

महत्वपूर्ण अवसरहरुमा मौन बसेर आलोचित हुने गरेका कोइराला भावी दिनहरुमा पार्टीभित्रैको नेतृत्वका लागि कति ग्राह्य हुने हुन् भनेर समेत चर्चा हुने गरेको छ। गएको विशेष महाधिवेशनकै समयमा पनि आफ्ना समर्थकहरुले स्पष्ट अडान प्रदर्शन गर्न माग गर्दा कोइराला पुरै मौन बसेका थिए। उनी तत्कालिन सभापति देउवाको छायामा परेको भनेर आलोचना भएको थियो। पछिल्लो राजनीतिक घटनाक्रमहरुमा कोइरालाको धारणा के हो भनेर अहिलेसम्म कसैले जान्न पाएका छैनन्।

वीपीका उत्तराधिकारीको भूमिकामा सक्रिय भएको देख्न चाहने कांग्रेसजन र गैरकांग्रेसजनको अपेक्षा पूरा गर्न भने शशांक पूर्ण रुपमा असफल नेता हुन् भन्दा अन्यथा हुने छैन।

प्रकाशमान सिंह

काठमाडौँको राजनीति र गणेशमान सिंहको कट्टर समर्थक समूहमा उनको पकड छ। उनी संस्थापन र इतर समूहबीचको पावर ब्रोकरका रूपमा सान्दर्भिक छन्। पार्टीको माथिल्लो तहको जिम्मेवारी पाईसकेका सिंहले सरकारको पनि दोस्रो वरियतामा रहेर काम गरिसकेका छन्। कहिलेकाहिँ कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका सिंहले पटक पटक मन्त्री बन्ने थोरै कांग्रेसीहरुमा आफ्ना नाम लेखाएका छन्।

पछिल्लो संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर जुन उनको क्षेत्र रहँदै आएको थियो, त्यहाँबाट युवा नेतृत्वलाई उम्मेदवार बनाइएपछि सिंह निस्कृय देखिए। 

अबका दिनमा सिंहको सक्रिय राजनीतिक यात्राले कसरी अगाडि बढ्छ भनेर यकिन भन्न नसकिने कांग्रेसजनहरु बताउँछन्। सर्वमान्य नेता गणेशमान सिंहको राजनीतिक विरासत भावी दिनमा कसले सम्हाल्ने हो भनेर चर्चा पनि हुने गरेको छ।

विमलेन्द्र निधि

नेपाली कांग्रेसका सम्मानित नेता महेन्द्र नारायण निधिका सुपुत्र विमलेन्द्र निधि आफैंमा एक सक्रिय नेता हुन्। विद्यार्थी राजनीतिदेखि सक्रिय भएका उनी प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका एक सशक्त नेता हुन्। पार्टीको उच्च पद र सरकारका विभिन्न मन्त्रालयहरुको जिम्मेवारी सम्हाल्ने अवसर पाएका निधि विशेष महाधिवेशनका बेला पूर्व सभापति देउवाकै नेतृत्वको निरन्तरताको पक्षमा बहस गरिरहेका थिए। 

उनले विशेष महधिवेशनको औचित्यमाथि वैधानिक प्रश्न गरिरहँदा त्यो सम्पन्न भएर संसदीय निर्वाचन पनि भयो, जसमा उनले चर्को असहमति जनाएको नेतृत्व गगन थापा नयाँ सभापतिमा चुनिएपछि थापाकै हस्ताक्षर भएको पत्र लिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएर प्रतिष्पर्धा पनि गरेका थिए।

निर्वाचनमा निधि पराजित भए। हालै सर्बोच्च अदालतले वैधानिकताको प्रश्न किनारा लगाउँदै गगन थापाको नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएको फैसला आएपछि पनि निधि भने त्यसलाई स्वीकार गर्न तयार देखिएका छैनन्।  नेतृत्व र सरकारको सम्भावना

अहिलेको बदलिँदो स्थितिमा यी तीन नेताहरुले भावी दिनहरुमा पार्टी वा सरकारको नेतृत्व गर्ने सम्भावना क्षीण देखिन्छ।

२०८२ पुसमा भएको विशेष महाधिवेशन र त्यसपछिको राजनीतिक घटनाक्रमले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूलाई अगाडि ल्याएको छ। हालैको आम निर्वाचनमा कांग्रेसले व्यहोरेको क्षति र राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ शक्तिहरूको उदयले गर्दा अब पुरानै विरासतका आधारमा मात्र नेतृत्व पाउन कठिन छ।

यदि भविष्यमा कांग्रेसले संसदमा ठूलो संख्या कायम राख्न सकेमा र पार्टीभित्रको गुटबन्दीमा उनीहरू सर्वसम्मत पात्र बन्न सके मात्रै सरकारको नेतृत्व सम्भव हुन्छ, जुन हालको गगन थापाको उदय पछि त्यो सम्भावना झन् जटिल बनेको छ।

पछिल्लो समयमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि पार्टीको आधिकारिकता उनीहरूकै पक्षमा छ। यस्तोमा यी तीन नेताहरूको भूमिका कस्तो होला भन्ने चासो छ।

पार्टी विभाजनको जोखिम र निर्वाचनमा भएको पराजयले गर्दा उनीहरू गगन थापाको नेतृत्वसँग मिलेर बस्न बाध्य हुन सक्छन्।

प्रकाशमान सिंह र विमलेन्द्र निधिले विगतमा गगन थापालाई सहयोग गरेका उदाहरण छन्। तर, शशांक कोइरालाको हकमा कोइराला परिवारको विरासतको प्रश्नले गर्दा पूर्ण रूपमा गगनको मातहतमा बस्न केही मानसिक कठिनाइ हुन सक्छ। 

परिवर्तित सन्दर्भमा एउटा कुरा के प्रष्ट भएको छ भने, यी तीनै नेताहरू अब निर्णायक नेतृत्व भन्दा पनि निर्णय गराउने शक्तिका रूपमा सीमित हुने देखिन्छन्। नेपाली राजनीतिमा अब विरासतभन्दा बढी एजेन्डा र डेलिभरीको माग भइरहेकाले उनीहरूले आफूलाई सोही अनुसार रूपान्तरण नगरे सान्दर्भिकता हराउँदै जाने जोखिम छ।

प्रतिक्रिया