काठमाडौं । दक्षिण चीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी “रगासा” ले व्यापक असर पुर्याएको छ ।
बुधबार दिउँसो दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको तटीय क्षेत्रमा आएको यस आँधीबेहरीले भीषण हावा र मुसलधारे वर्षा गराएको छ । यो वर्षको १८औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।
ग्वाङ्डोङ प्रान्तीय आपतकालीन व्यवस्थापन विभागले आँधी आउनुअघि नै पूर्वतयारी स्वरूप करीब १० लाखभन्दा बढी जनतालाई सुरक्षित स्थानमा सारेको छ । साथै, तटीय क्षेत्रमा नियन्त्रणात्मक उपायहरू लागू गर्दै बन्दरगाह सञ्चालन स्थगित गरिएको छ । करिब ८० हजारभन्दा बढी माछा मार्ने डुङ्गा बन्दरगाहमा बाँधिएका छन् भने १२ हजार २ सयभन्दा बढी समुद्री कामदारहरूलाई किनारमा सुरक्षित स्थानमा राखिएको छ । यसबीच, केन्द्रीय सरकारले पनि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।
अन्य प्रभावित क्षेत्रहरूमा पनि स्थानीय निकायहरूले पूर्वसावधानी अपनाएका छन । हाइनान प्रान्तमा द्रुतगति रेल सेवा र केही हवाई उडानहरू रोकिएका छन् भने एकहजार भन्दा बढी यार्डहरू बन्दरगाहमा राखिएका छन् । ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा पर्यटकलाई वेइझोउ टापुदेखि सारिएको छ र तटीय मार्गहरू बन्द गरिएका छन् । यसैगरी, हङकङ विशेष प्रशासनिक क्षेत्रमा विद्यालयहरू बन्द गरिनुका साथै यातायात सेवा स्थगित गरिएको छ भने मकाउ विशेष प्रशासनिक क्षेत्रमा तल्लो भू–भागमा डुबान भएर स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
चीनको केन्द्रीय मौसम विज्ञान वेधशालाले बिहीबारबाट ग्वाङ्डोङ तटमा हावा र वर्षाको तीव्रता क्रमशः घट्ने र वर्षा पश्चिमतर्फ सर्ने अनुमान गरेको छ । जसले ग्वाङ्सी क्षेत्रमा ठूलो असर पार्ने सम्भावना छ । साथै, सर्वसाधारणलाइ अनावश्यक यात्रा नगर्न, शहरी क्षेत्रमा सम्भावित बाढी र ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिमबाट सावधान रहन आग्रह गरिएको छ । प्रभावित हुन सक्ने अन्य प्रान्तहरूमा युनान, गुइझोउ, जियाङसु, फुजियान र झेजियाङ पनि रहेका छन ।
प्रतिक्रिया