सुटकेशभित्र महिलाको शव फेला

रौतहट । रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । गौर नगरपालिका वडा नम्बर ९ पर्ने सो सडकमा शनिबार राती १०:३० बजे शकास्पद सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए । उनका अनुसार प्रहरी टोलीले आज (आइतबार) बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए । 

शवमा साडी छिरिएको देखिएकाले महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । प्रहरीले महिलाको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । यस अघि गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया र सप्तरीका उपेन्द्र भगतको एक होटलमा शव फेला परेको थियो । यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ ।
 

प्रतिक्रिया